प्रस्तुत् मसौदा बिधान्
एन आर एन डेनमार्कका अधक्ष्य सोमनाथ सापकोटा द्वारा प्रस्तुत् एन आर एन डेनमार्कको बिधान्
परिच्छेद १
प्रारम्भिक
प्रस्तावना :
गैर-आवासिय नेपालीहरुलाई नेपालको आर्थीक, सास्कृतिक तथा सामाजिक कृयाकलापमा संलग्न गराइ मुलुक को सर्वोपरी बिकास गर्न र डेनमार्क मा रहेका सम्पूर्ण नेपालीहरुको बिचमा एकता र समझदरी प्रभावकारी बनाउन साथै नेपाल र डेनमार्क बिच मित्रताका समबन्ध अझ बढी व्याबहारिक बनाउने तर्फ उत्प्रेरित गर्न राजनैतिक तथा नीजी स्वार्थ लाभ भन्दा माथि उठि ,गैर-आवासिय नेपालीहरूको उत्थान गर्ने हेतुले यो संस्था ई. स. 02 AUGUST 2009 मा
डेनमार्क मा स्थापना भएको हो ।
१ संस्था को नाम र प्रारम्भ:
१.१ यो संस्थाको नाम नेपालीमा “गैर-आवासिय नेपाली संघ डेनमार्क ” राष्ट्रिय समन्वय समिती हुनेछ ।अंग्रेजिमा ” नोन-रेसिडेण्स नेप्लीस एसोसिएसन डेनमार्क नेस्नल कोर्डिनेसन कौन्सिल” हुनेछ र छोटकरिमा एन.आर.एन. डेनमार्क भनिनेछ ।
१.२ यस संस्थाको मुख्य कार्यालय कोपेनहगेन मा डेनमार्कमा रहने छ ।
१.३ यो संस्थाको मुख्यत:मुनफा कमाऊने उद्देश्य नभएको गैरराजनैतीक एक अविच्छिन्न उत्तरधिकारवाला संस्था हो ।
१.४ यस संस्थाले व्यक्ति सरह चल-अचल सम्पत्ती खरिद बिक्री गर्न,बन्धक राख्न ,दान दातव्य लिन वा दिन सक्नेछ र नालिस उजुर गर्न सक्नेछ ।
१.५ कार्यसमितिले तोके बमोजिम यस संस्थाको आफ्नै झन्डा , चिन्ह र छाप हुनेछ ।
1.6 यस सस्था को लोगो र झन्डा मा दुई हिमाल बिच बाट उदाउदै गरेको सुर्य र त्यस्को तल NRNA हुनेछ
1.7 संस्था को छाप मा गोलाकार मा Non- Resident Nepali Association, Denmark,2009 हुनेछ
२ परिभाषा :
२.१ ” एन. आर. एन डेनमार्क” भन्नाले डेनमार्क बसोबास गर्ने नेपालीहरूको संगठन भन्ने बुझिन्छ ।
२.२ “केन्द्रिय” भन्नाले गैर आवासिय नेपाली संघको अन्तरराष्ट्रिय समन्वय समिती भन्ने बुझिन्छ ।
परिच्छेद-२
उद्देश्य
३.यस संस्थाको उद्देश्य :
३.१ गैर आवासिय नेपालीहरूलाई नेपालको आर्थीक तथा सामाजिक कृयाकलापमा संलग्न गराई देशको विकास गर्नु ।
३.२ डेनमार्क मा रहेका सम्पूर्ण नेपालीहरूको हक हितको संरक्षण, सम्बर्धन र एक आपसमा एकता र समझदारी सम्बन्धि प्रभावकारीताको बृद्धी गर्नु।
३.३ नेपाल र डेनमार्क बिच मैत्री सम्बन्ध बढि भन्दा बढि प्रभावकारी बनाऊन गोष्ठि, कर्यशाला,प्रवचन,र अनुसन्धानात्मक योजनाहरु संचालन गर्ने र रचनात्मक कार्य गर्न सकृय रहने।
३.४ नेपालमा आइपर्ने मानवअधिकार सम्बन्धी समस्याहरूको समाधानको लागि भरसक प्रयास गर्ने ।
३.५ डेनमार्क मा रहँदा प्राप्त गरेको सिपहरूको नेपालमा प्रयोग गर्नको लागि उपयुक्त आयोजना एवं कार्यन्वयन गर्न सकृय भूमिका निभाऊने ।
३.६ डेनमार्क मा रहेका अन्य संघ संस्था सँग आपसी सम्बन्ध र सहयोग लिने दिने ।
परिच्छेद-३
सदस्यता :
४. साधारण सदस्य :
डेनमार्क मा बसोवास गर्दै आएका नेपाली नागरिक हरू र नेपाली मुलको बिदेशी नागरिक (सार्क मुलुक बाहेक) र ऊनका परिवारहरूले कार्यकारिणि समितिले तोकेको नियमावली अनुसार दर्खास्त फारम पेश गरि साधारण सदस्याता प्राप्त गर्न सक्नेछ।
५ . साधारण सदस्याताको लागि योग्यता र नविकारण:
५.१ आर्थीक वर्ष अवधीमा 183 दिन भन्दा बढी मा बसोबास गर्ने नेपाली नागरिक हरू र नेपाली मुलका विदेशी नागरिकहरू र ऊनका परिवारहरू सधारण सदस्य बन्न सक्ने छन ।
५.२ सदस्यताको लागि एक प्रती फोटो,दर्खास्त फारम र कार्यसमितिले निर्धारण गरे बमोजिमको शुल्क सहित संघमा बुझाउनु पर्नेछ ।
५.३ सदस्यताको अवधी एक वर्ष हुनेछ र जुन मितिमा प्राप्त गरे पनि डिसेम्वर महिनाको को अन्त्यमा समाप्त हुनेछ ।
५.४ सदस्यताको नविकरण ऊपयुक्त शुल्क बुझाई प्रत्यक वर्ष गर्नु पर्नेछ।
५.५ साधारण सदस्यता को लागि कम्तिमा १६ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।
६. सदस्यताको खारेजी :
६.१ संघको सदस्यबाट राजिनामा दिएमा ।
६.२ संघको बिधान विपरित काम गरेमा ।
६.३ सदस्यता नविकरण नगरेमा ।
६.४ मृत्यु भएमा या मानसिक रोग लागेमा ।
७. सम्मानित सदस्य:
नेपालको आर्थिक एबं मैत्री सम्बन्ध बिकासको कृयाकलापमा संलग्न भई योगदान गरेकाडेनिस् नागरिकलाई सम्मानित सदस्यता प्रदान गर्न सकिने छ ।
८ . मानार्थ सदस्य :
बिना कुनै शर्त संघको मर्यादालाई उच्च बनाउन विशिष्ट योगदान गर्ने ब्यक्ती तथा संघ संस्था लाई कार्यसमितिको बैठकले निर्णय गरेमा नि:शुल्क यस संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सकिने छ ।
परिच्छेद-४
कार्यकारीणी समिती
९.१ कार्यकारीणी समिती:
अध्यक्ष – १, उपाध्यक्ष – २, माहासचिब 1 सचिब 2 – ,कोषाध्यक्ष – १कुल सदस्यहरू – ११ जना मा३ जना अध्यक्षबाट मनोनितगरी बढीमा १७ जना को कार्यकारीणी समिती हुनेछ । निर्वाचन द्वारा पद हरू रिक्त भएको अवस्थामा रिक्त पदको लागि मात्र पुन: निर्वाचन गरिने छ ।
९ .२ कार्यकारीणी सदस्य हुनको लागि यस संस्थाको साधारण सदस्य हुनु पर्नेछ ।
९.३यस संस्थाको अध्यक्ष पदमा 2 पटक भन्दा बढी एउटै ब्यक्ती उमेदवार हुन पाउने छैन ।
१०. कार्यकारीणी सदस्यको खारेजी:
१०.१ यस संस्थाको सदस्यबाट राजिनामा दिएमा ।
१०.२ यस संस्थाको बिधान बिपरित काम गरेमा ।
१०.३ मृत्यु भएमा या मानसिक रोग लागेमा ।
१०.४ साधारण सदस्य नविकरण नगरेमा ।
१०.५ यस संस्थामा अधिकारिक ब्यक्तिलाई लिखित जानकारी नगरि ३ पटक भन्दा बढी कार्यसमितिको बैठकमा अनुपस्थित भएमा ।
११. कार्यकारीणी सदस्यको पदावधी र अविश्वास्को प्रस्ताव:
११.१ कार्यकारीणी सदस्य को पदावधी २ वर्ष को हुनेछ ।
११.२ कार्यकारीणी सदस्यको पद रिक्त भएमा बाँकी रहेको अवधीका लागि जुन क्षेत्र र प्रकृयावाट प्रतिनिधित्व भएको हो सोही अनुसार पदपुर्ती हुनेछ ।
११.३ कार्यकारीणी समिती का सबै वा कुनै पदाधिकारी ले बिधान बमोजिम काम नगरेको भन्ने लागेमा साधारण सदस्यको कम्तिमा २५ प्रतिशत सदस्य हरुले लिखित अविश्वासको प्रस्ताव कार्यकारिणि समिति मा पेश गर्न सकिने छ र प्रस्ताव प्राप्त हुनासाथ कार्यकारिणि समितिले बिशेष अधिवेशन बोलाउनु पर्ने छ। उपस्थित सदस्यहरुको बहुमतले त्यस्तो प्रस्ताव को पक्षमा मतदान गरेमा अविश्वासको प्रस्ताव पारित भएको मानिनेछ।
१२ संरक्षक र सल्लाहाकार :
१२.१ यस संस्थामा डेनमार्क को लागि माहामहिम राजदुत संरक्षक हुनुहुनेछ ।
१२.२ गैर-आवासिय नेपाली संघ डेनमार्क सस्थापक अध्यक्ष संस्थाको सह-संरक्षक हुनेछ ।
१२.३ संरक्षक र सह-संरक्षक को पद पदेन हुनेछ ।
१२.४ कार्यकारीणी समितिले आवश्यकता अनुसार सल्लाहाकार मनोनयन गर्न सक्नेछ ।
१२.५ सल्लाहाकार को पदावधी २ वर्ष हुनेछ ।
१३ कार्यकारीणी समितिको काम,कर्तव्य र अधिकार :
१३.१ गैर-आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिबाट पारित भएको नीती र कार्यक्रम कार्यन्वयन गर्ने ।
१३.२ विभिन्न किसिम का गोष्ठि,समसामयिक विषयमा सभा, समारोह गर्ने ।
१३.३ समितिले यस बिधान अन्तरगत रही संस्थाको दैनिक प्रशासनिक एवं आर्थिक कार्यविधी संचालन गर्ने ।
१३.४ आवस्यक परेमा विभिन्न समिति,उपसमिति गठन गर्ने ।
१३.५ यस संस्थाको उद्देश्य प्राप्तीका लागि आवश्यक नियम बनाइ लागु गर्ने ।
१३.६ यस बिधान को व्याख्या गर्ने अन्तिम अधिकार कार्यकारीणी समिती लाई हुनेछ ।
परिच्छेद-५
साधारण सभा
१४. साधारण सभा:
१४.१ यस संस्थाको सबै साधारण सदस्य हरुको सभालाई साधारण सभा भनिनेछ ।
१४.२ साधारण सभा कम्तिमा वर्षको एक पटक बोलाउनु पर्नेछ ।
१४.३ साधारण सभाको गण उपस्थित संख्या सदस्यको ५१ प्रतिशत लाई मानीने छ ।
१४.४ साधारण सभामा सचिवले वर्षिक प्रतिवेदन र कोषाध्यक्ष ले लेखा परिक्षण प्रतिवेदन पेश गरी सभामा पारीत गराउनु पर्नेछ ।
१४.५ कार्यकारीणी समितिले चाहेमा जुन सुकै समयमा पनि विशेष साधारण सभा बोलाउन सक्नेछ ।
१४.६ यस संस्थाका साधारण सदस्यको २५ प्रतिशत सदस्यहरूले निश्चीत कारण देखाई लिखित माग गरेमा विशेष अधिवेशन बोलाउनु पर्नेछ ।
१५. साधारण सभाको सभापतित्व संस्थाको अध्यक्षले गर्ने छ,नीज अनुपस्थित भएमा पहिलो उपाध्यक्षले गर्ने छ,अध्यक्ष र दुबै जना उपाध्यक्ष हरू अनुपस्थित भएमा सचिवले सभापतित्व गर्नेछ ।
परिच्छेद – ६
लेखापरिक्षण समिती
१६. साधारण सभा ले २ वर्ष को लागि अध्यक्ष,उपाध्यक्ष र प्रतिवेदक गरी जम्मा ३ जनाको लेखापरिक्षाण समिती निर्वाचन गर्ने छ ।
१६.१ यस समिती ले एन. आर. एन.डेनमार्क को आय- ब्यय को विबराण जाँच गरी कार्य समिती मा पेश गर्ने छ ।
१६.२ यस समिती को अध्यक्ष , कार्य समितिको बैठक मा उपस्थित हुन, छलफल मा भाग लिन र प्रस्ताव राख्न सक्छ तर प्रस्ताव माथि निर्णय गर्ने अधिकार हुने छैन ।
१६.३ यस समितिको बैठक साधारणतय 1 महिना को एक पटक हुनेछ,तर अध्यक्ष आफैले या समितिको सदस्य ले माग गरेमा जहिले पनि हुन सक्नेछ ।
१६.४ कार्य समितिको विघटन संगै यस समितिको पनि विघटन हुनेछ।
परिच्छेद – ७
कोष तथा लेखापरिक्षण
१७. आर्थिक आय:
१७.१ सदस्यता शुल्क
१७.२ चन्दा तथा उपहार
१७.३ चल अचल सम्पत्ति
१७.४ प्रकाशन बिक्री
१७.५ सेमिनार,गोष्ठि,तालिम आयोजना एवं परामर्श सेवा
१७.६ विविध आम्दानीवाट
१८ . आर्थिक वर्ष :
आर्थिक वर्ष भन्नाले जनवरि १ तारिख देखि डिसेम्वर महिनाको अन्त्यलाई मानिने छ ।
१९ .कोषाध्यक्ष वा आर्थिक समितिले वार्षिक साधारण सभा भन्दा ३० दिन पहिला आय – व्वयको विवरण र लेखापरिक्षण को प्रतिवेदन साधारण सभाका सदस्य हरुलाई पठाउनु पर्नेछ ।
१९.१ कोषाध्यक्ष वा आर्थीक समितीले संस्था को हिसाब किताब नियमित रुपमा लेखापरिक्षण समितिमा पेश गर्नुपर्ने छ ।
परिच्चेद -८
निर्वाचन तथा मतदान
२०.निर्वाचन तथा मतदान:
२०.१ कार्यकारीणी समितिको चुनाव हुँदा कार्यकारीणी समितिले३० दिन पहिले कम्तिमा पनि ३ जनाको निर्वाचन समिती गठन गर्ने छ ।
२०.२ निर्वाचन समितिले कार्यबिधी आफै निर्धारण गर्नेछ ।
२०.३ समितिको निर्णय बहुमत वाट पारीत हुनेछ र मत बराबर भएमा उक्त पदको लागि मात्र पुन:निर्वाचन गर्नुपर्ने छ ।
२०.४सम्मानित सदस्य, मानार्थ सदस्यहरुलाइ,कार्यकारीणी समितिको लागि मतदान मा भाग लिने तथा उमेदवार हुने अधिकार हुने छैन ।
परिच्छेद -९
विविध
२१.विधान संशोधन :
साधारण सदस्य संख्या को तीन चौथाइ (७५%) मतद्वारा विधान मा संशोधन गर्न सकिने छ ।
२२.विघटन:
यस संस्थाको विघटन भएमा संस्थाको सम्पत्ति तथा कोष सो विघटन को प्रस्ताव पारीत गरेको साधारण सभाले तोके अनुसार हुनेछ ।
२३ विधानमा उल्लेख नभएका हकमा कुनै समस्या पर्न आएमा , डेनमार्क को प्रचलित कानुन वमोजिम गरिने छ ।
समाप्त
