उदार उद्यमी उपेन्द्र महतो
मिती | April 20, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 233 पटक पढेको
वर्ष २०६६ नेपाली राजनीतिका लागि सुखद रहेन । अरू क्षेत्रमा पनि खासै उत्साह देखिएन । तर, गैरआवासीय नेपाली उद्यमी उपेन्द्र महतो भने धेरै उत्साही देखिए, जसले सामाजिक कार्यका लागि मात्रै नेपालमा करिब १७ करोड रुपियाँ खर्च गरे । र, त्यो सहयोग थियो- आफ्नी आमाको नाममा रहेको फूलकुमारी महतो मेमोरियल ट्रस्ट र व्यक्तिगत हैसियतको । सिराहाको कर्जन्हामा सात करोडको अस्पताल, समता शिक्षा निकेतनका देशभरि नौवटा स्कुल निर्माणका लागि ३ करोड ६० लाख, पशुपतिमा किरियापुत्री भवन निर्माणका लागि तीन करोड र धुलिखेलमा पतञ्जलि योगपीठको योग भवन निर्माणका लागि दुई करोड रुपियाँ दिएर महतो कल्याणकारी कार्यका लागि एक वर्षमै सबैभन्दा धेरै रकम दिने नेपालीमा दरिन पुगेका छन् । व्यावसायिक रूपमा नेपालमा काम थालेयता २१ करोड रुपियाँ सामाजिक क्षेत्रमा लगाइसकेका छन् उनले । सम्भवतः यो पनि एउटा कीर्तिमान हो ।
हो, व्यवसायीको सामाजिक उत्तरदायित्व हुन्छ र व्यक्तिको पनि । उपेन्द्र महतो पनि त्यसको अपवाद हुन सकेनन् । त्यसैले समाजसेवामा सहयोग गरेर त्यही दायित्वलाई पूरा गरिरहेको ठान्छन् । भन्छन्, “समाजले दिएको छ भने समाजलाई पनि दिनुपर्छ । त्यसैले, कुनै न कुनै रूपमा समाजले लगाएको ऋण चुक्ता गर्ने प्रयत्नमा छु र यसबाट मलाई खुसी, आत्मविश्वास र आत्मसम्मान प्राप्त हुन्छ ।”
सामाजिक कार्यको पाटो त छँदैछ, आफू र आफ्नो समूहको करिब २० करोड अमेरिकी डलर -करिब १४ अर्ब रुपियाँ) नेपालमा लगानी रहेको बताउने उनी तरल राजनीतिक अवस्थामा पनि मुलुकमा लगानी गर्न हौसिएका छन्, विदेशी लगानीकर्ताहरूलाई पनि आकषिर्त गराउँदै । ‘मेरो मोबाइल’बाट भर्खरै ‘एनसेल’मा परिणत भएको उनको लगानी रहेको मोबाइल सेवा प्रदायक स्पाइस नेपालमा यस वर्ष करिब १ अर्ब ४० करोड रुपियाँ थप लगानी हुँदैछ । खासगरी खराब राजनीतिक अवस्था र अन्योलका बाबजुद पनि उनी नेपालमा लगानी गर्न र गराउने ध्याउन्नमै देखिन्छन् । अहिले काठमाडाँै-वीरगन्ज विद्युतीय रेलमार्ग र दुईदेखि पाँच हजार मेगावाटसम्मका जलविद्युत् उत्पादन गर्ने योजनामा उनको आँखा गढेको छ । भन्छन्, “यी आयोजनाहरू अबको पाँच वर्षभित्र कार्यान्वयनमा गइसक्नुपर्छ ।” शिक्षा र स्वास्थ्यका क्षेत्रमा पैसा विदेशिइरहेको पनि उनलाई चित्त बुझेको छैन । र, जुनसुकै बेला पनि यसमा हात हाल्न सक्छन् उनी ।
गएकै वर्ष गैरआवासीय नेपाली संघको अध्यक्षबाट स-सम्मान बिदा भएका महतो संसारभरि छरिएर रहेका नेपालीहरूलाई एकै सूत्रमा बाँध्ने त्यस अभियानका नेतृत्वकर्ता पनि हुन् । आठ वर्षअघि उनको नेतृत्वमा सुरु भएको यो अभियान अहिले विश्वका ५५ मुलुकमा फैलिएको छ, जसमा जात-जाति, भाषा-भाषीको विभाजन छैन । सबै नेपालीका रूपमा एकताबद्ध छन् । यस अर्थमा नेपालीहरूलाई एकताको सूत्रमा बाँध्न उनको कसैभन्दा कम योगदान र समर्पण छैन ।
यिनै कारणले गर्दा उपेन्द्र महतो नेपाल वर्षव्यक्ति ०६६ चुनिएका हुन् ।
No related posts.
Comments
प्रतिकृया दिनुस्
