एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ
मिती | March 14, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 230 पटक पढेको
देवमान हिराचन, गैर नेपालीहरूको संस्था (एनआरएन) अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि जापानमा बसोबास व्यवसाय सञ्चालन गर्दै आउनुभएका हिराचन नेपालीको भविष्य निर्माणमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको विचार व्यक्त गर्नुहुन्छ ।
आन्तरिक राजनीतिक अवस्थामा सुधार, शान्ति सुरक्षा र लगानीको उचित वातावरण बन्न सके नेपालमा गैर आवासीय नेपालीहरूको लगानी बढ्ने मात्र होइन उनीहरू संयुक्त वैदेशिक लगानीको बलिया माध्यम पनि बन्न सक्ने विश्वास राख्नुहुन्छ ।
गैर आवासीय नेपालीहरूलाई प्रदान गर्न लागिएको परिचयपत्र स्वागतयोग्य निर्णय भएको बताउनु हुने अध्यक्ष हिराचन दोहोरो नागरिकताको प्रावधान गैर आवासीय नेपालीहरूको चाहना रहेको बताउनुहुन्छ । प्रस्तुत छ उहाँसँग इमेल मार्फत गरिएको अन्तर्वार्ता-
एनआरएनलाई अगाडि बढाउन कस्तो नयाँ थप ‘एजेण्डा’ तयार पार्नुभएको छ ?
गैर आवासीय नेपाली सङ्घ विदेशमा बस्ने सबै नेपालीको साझा संस्था हो । यहाँ ‘नयाँ’ एजेण्डाको कुरा भन्नुभन्दा पनि निरन्तरतालाई नेपाल र नेपालीको हितसँगै हामी सबैको हित गाँसिएको छ भन्ने कुरामा विश्वास गर्दछौं र त्यस्तै हित प्रवर्द्धनमा निरन्तर लागिरहेका छौं ! मेरो मुख्य ध्यान यस अभियानको संस्थागत संरचनाको विकास एवं हाम्रो कामको प्रभावकारिता बढाउनतिर लागेको छ ।
अहिले संसारभर कति नेपाली छरिएर रहेका छन्- एनआरएनले कति देशमा आˆना सङ्गठन विस्तार गरेको छ र सदस्यता सङ्ख्या कति छ ?
अहिले दक्षिण एसिया क्षेत्रबाहिर नै २६ लाखभन्दा बढी नेपाली रहेको हाम्रो अनुमान छ । हामी ती सबैलाई आˆनो सदस्य मान्दछौं ! विश्वमा अब सायदै त्यस्तो मुलुक होला जहाँ नेपालीहरू पुगेका छैनन् ! संस्थागत रूपमा हेर्ने हो भने गैर आवासीय नेपाली सङ्घको ५५ मुलुकमा राष्ट्रिय समन्वय परिषद् खुलिसकेका छन् ! अरू पाँच-सात मुलुकमा पनि यो खुल्ने तरखरमा छ । राष्ट्रिय समन्वय परिषद्हरूलाई शुल्क बुझाएर पञ्जीकृत सदस्यता लिने सङ्ख्या पनि २० भन्दा बढी पुगिसकेको छ ।
अहिले एनआरएनबाट अपेक्षाकृत लगानी नभएको बताइन्छ । त्यसका कारणहरू के हुन सक्दछन् ?
एनआरएन एक अभियान हो र यसलाई वित्तीय लगानीसँग मात्र गाँसेर हेर्नु हुँदैन भन्ने हाम्रो धारणा छ ! वित्तीय लगानीका अतिरिक्त पनि एन.आर.एनले मुलुकको प्रगतिमा ठूलै भूमिका खेल्न सक्छन् ? भन्ने हाम्रो धारणा छ ! निश्चय नै देशको रूपान्तरणमा लगानीको ठूलो महत्त्व छ ! फेरि संघ सामाजिक संस्था भएकोले आफैँले लगानी पनि गर्दैन ! खालि गैर आवासीय नेपालीहरूलाई लगानी गर्न उत्प्रेरणा मात्र दिन्छ ।
लगानी हुनका लागि निश्चय पनि मुलुकमा लगानी मैत्री वातावरण चाहिन्छ तर नेपालमा लगानीका लागि राम्रो वातावरण बन्न नसकेको सत्य हो । हाम्रो राजनीति सामाजिक उथलपुथल, नीतिको निरन्तरता माथिको अल्पविश्वास, झन्झटिलो प्रक्रिया, कार्यान्वयनमा हुने सुस्तता पूर्वाधारहरूको कमी आदिका कारण एनआरएन लगायतका लगानी अपेक्षाकृत रूपमा हुनसकेको छैन । तर एनआरएनहरूमा नेपालमा केही गर्नुपर्छ भन्ने भावना जागेको छ । यस्तो अप्ठेरो बेला पनि केही लगानीका परियोजना सुरु भएका छन् ।
देशको आन्तरिक अवस्था सुधि्रए यस्तो लगानी बर्सेनि कति रकम बराबर हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ?
ठ्याक्कै अनुमान गर्न गाह्रो छ । फेरि एनआरएनहरूले आफैंले मात्र लगानी गर्ने होइन । अरू विदेशी लगानी भित्र्याउनु समेत उनीहरूको सहयोग रहन्छ । नेपालको लगानीको वातावरण व्यवससाय मैत्री भयो भविष्यमा हामीले अनुमान गरेभन्दा धेरै ठूलो लगानी भित्रिनेछ भन्ने कुरामा म विश्वस्त छु ।
एनआरएनले प्रत्यक्ष लगानी गर्ने कुरा त आˆनो ठाउँमा छँदैछ, यसबाहेक संयुक्त लगानी वा वैदेशिक लगानी भित्र्याउने आधार पनि बन्न सक्ने अवस्था हुनसक्छ भन्ने आशा देखिए पनि त्यस्तै प्रक्रिया धेरै अघि बढेको पाइँदैन नि ?
गैरआवासीय नेपाली सङ्घले संयुक्त लगानीको अवधारणा अभियानको सुरूसँगै उठाउँदै आएको हो । निश्चय नै यसका लागि समय लाग्छ र त्यस्तो संयुक्त लगानीको प्रक्रियागत संरचना पनि हुनुपर्दछ । हामी विदेशमा बस्ने नेपालीहरूको स-सानो बचतलाई जम्मा गरेर मुलुकलाई र बचतकर्तालाई पनि फाइदा हुने लगानीमा परिवर्तन गर्ने पक्षमा छौं । हाम्रो संस्थासमेत कानुनी रूपमा स्थापित भई नसकेको अवस्थामा प्रक्रियालाई छिटो अघि बढाउन सकिएन तर हाम्रो प्रयत्न जारी छ ।
देशको आन्तरिक राजनीतिक स्थिरता भएको खण्डमा एनआरएनको तर्फबाट जलस्रोत, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन जस्ता पक्षमा कस्तो गुणात्मक लगानी वृद्धि हुन सक्ला ?
नेेपालमा लगानीका धेरै सम्भावना छन् र धेरै क्षेत्रमा लगानी हुन बाँकी नै छ । गैर आवासीय नेपालीहरूको सहभागिताले नयाँ प्रविधि भित्र्याउन र नयाँ प्रक्रियाहरूको थालनी गर्न सक्नुपर्दछ भन्ने मेरो धारणा छ । हामीले अहिले त्यति राम्रोसँग नपहिल्याएका क्षेत्रमा समेत ठूलै लगानी भित्रिन सक्दछ भन्ने मेरो बुझाइ छ ।
एनआरएनका लागि हालै सरकारले परिचयपत्र दिन सुरू गरेको छ । यसले के अब एनआरएनका धेरै समस्या समाधान भए त ?
सङ्घले परिचयपत्रको व्यवस्थालाई एक सकारात्मक कदमका रूपमा लिई स्वागत गरेको छ तर परिचयपत्रले सबै समस्या समाधान गर्न सकेको छैन । परिचयपत्र लिने प्रक्रिया र दिनुपर्ने विवरण झन्झटिलो छ । नेपाली मूलको विदेशी नागरिकको परिचयपत्रबाहकले नेपाल आउँदा जाँदा भिसा शुल्क तिर्नु नपर्ने भनिएको छ । परिचयपत्र भएपछि भिसा लिनु नपर्ने प्रष्ट व्यवस्था अझै भएकेा छैन । त्यस्तै नेपालमा सीमित रूपमा मात्र सम्पत्ति राख्न पाउने व्यवस्था गरेको छ । हाम्रो सुझाव नेपाली नागरिकसरहको व्यवस्था होस् भन्ने थियो । यसमा धेरै सुधारका सम्भावना छन् । हामी राज्यसँग मिलेर त्यस्ता सुधार गरिनुपर्दछ र हुन सक्तछन् भन्ने धारणा राख्दछौँ ।
परिचयपत्रले बस्ने र लगानी गर्ने वातावरण दिन्छ भने दोहोरो नागरिकता नै किन आवश्यक पर्ला त अब ?
परिचयपत्र र नागरिकता भनेका छुट्टा छुट्टै करा हुन् । ड्राइभिङ लाइसेन्स पनि परिचयपत्र हो । नागरिकताले मुलुकसँगको भावनात्मक एवं कानुनी सम्बन्ध स्थापित गर्दछ । नागरिकता भएका व्यक्तिले राज्यबाट अधिकार पाउँछन् र राज्यप्रति कर्तव्य पनि निर्वाह गर्दछन् । हामी नागरिकतामार्फत मुलुकप्रतिको कर्तव्यलाई कानुनी रूपमा नै स्थापित गर्न चाहन्छौँ ।
एनआरएनलाई सुविधा दिँदा एउटै वर्ग र तहमा राखेर व्यवहार गर्नुभन्दा लगानी भित्र्याउने सम्भावना, बौद्धिक क्षमता जस्ता पक्षहरूलाई आधार मान्दा कत्तिको उपयुक्त होला ?
निश्चय नै गैरआवासीय नेपालीहरूमा धेरै प्रकारका व्यक्तिहरू छन् तर राज्यले कुनै नीति बनाउँदा वा सुविधा दिँदा खास मुलुकको र वर्गको फाइदा मात्र हेरेर बनाउनु हुँदैन । नीति सबैका लागि समान हुनुपर्दछ । त्यसबाट फाइदा लिने त आˆनो साधन, स्रोत र क्षमताले हो । म गैर आवासीय नेपालीहरूबीच विभेदको पक्षमा छैन ।
एनआरएनका लागि राज्यले र निजी क्षेत्रले कस्तो थप वातावरण बनाउनु उपयुक्त हुन्छ ? यहाँको सल्लाह सुझाव केही छन् कि ?
नेपाल अहिले सङ्क्रमणकालमा छ । धेरै परिवर्तन भएका छन् धेरै कुरा हुन बाँकी छ । नयाँ संविधानले नेपालको अखण्डता र राष्ट्रिय एकता बलियो पार्नुपर्दछ । संविधानले नेपाललाई दु्रततर आर्थिक विकासमा अघि बढाउन सक्नुपर्दछ । गैर आवासीय नेपालीहरूको हित पनि नेपालको उन्नति र प्रगतिसँग गाँसिएको छ । सबै मिलेर नेपाललाई प्रगतिपथमा लम्कने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो ।
एनआरएनको लगानी सँगसँगै वैदेशिक लगानी भित्र्याउन नि त ?
लगानी मूलतः दुई कुरामा निर्भर गर्दछ । एक लगानीको प्रतिफल कस्तो हुन्छ र दोस्रो लगानी कति सुरक्षित रहन्छ वा कति जोखिमपूर्ण छ । राम्रो प्रतिफल छ र सुरक्षा पनि राम्रो छ, गैर व्यावसायिक जोखिम छैन भन्ने विश्वास दिलाउन सके सबैको लगानी भित्रिन्छ । जोखिम धेरै छन् र प्रतिफलको सम्भावना पनि कम छ भन्ने सन्देश जाउन्जेल लगानी भित्रिँदैन ।
नयाँ संविधानमा एनआरएनको भावनालाई कसरी समेट्न सके राम्रो होला भन्ने लाग्छ ?
सर्वप्रथम त संविधान समयमा नै बन्नुपर्दछ । साथै, यसले विश्वव्यापी रूपमा मान्यताप्राप्त लोकतान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरेको हुनुपर्दछ । नेपालीको सम्पत्तिमाथिको आधिकार लगायतका मौलिक अधिकार सुनिश्चित गरेको हुनुपर्दछ । संविधानले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख सक्ने हुनुपर्दछ । सबै नेपालीले यो हाम्रो संविधान हो र यसले मेरो हकहित सुरक्षित गर्दछ भन्न सक्ने संविधान बन्यो भने संविधान निर्माणको सार्थकता हुनेछ । एक पटकको नेपाली सधँैको नेपाली भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सक्नुपर्दछ । साथै नेपाललाई विश्वव्यापी रूपमा नै सफल राष्ट्र बनाउन सक्ने संविधान बन्न सके हामी सबैको हित हुनेछ ।
No related posts.
Comments
प्रतिकृया दिनुस्
