नेपालमा एनआरएनको भूमिका

मिती | January 25, 2010 | Posted By | पहिलो प्रतिकृया दिनुस् | 143 पटक पढेको

डा. कुमार बस्नेत
२०६६ माघ १०

नेपालीहरु परदेश पुगि त्यस देशको भाषा, संस्कृति, रहनसहनमा भिजेर, प्रवासलाई आफ्नो कर्मभूमि बनाउने क्रम लिच्छविकालदेखि नै सुरु गरिएको हो । सातौं शताब्दीतिर नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजा स्रोङसान गन्पोसँग विवाह भएपछि तिब्बतमा बुद्ध धर्म फैलाएर ल्हासामा प्रसिद्ध स्तुपाहरू जोकहान र पोत्ला बनाउन लगाई तिब्बतको विकासमा ठूलो योगदान पुर्‍याएको कुराहरू इतिहासमा पढ्न पाइन्छ । भृकुटीले उक्त समयमा तिब्बत र भुटानमा आफ्नो मातृभूमि नेपाललाई चिनाउने काममात्र नगरी दुई मुलुक बीचको मैत्री सम्बन्धमा नै उल्लेखनीय भूमिका निभाएकी थिइन् । त्यसैकारण भृकुटीलाई आज पनि हामीले धेरै सम्मान गर्ने गरेका छौं । भनिन्छ, त्यस समयमा नै भृकुटीले नेपालबाट कालिगड झिकाइ, कलात्मक मन्दिरहरू बनाएर त्यस क्षेत्रमा कुशल नेपाली कालिगडीको परिचय दिएकी थिइन् ।
त्यस्तै १३ औं शताब्दीमा अरनिकोले प्रवासबाट नै आफ्नो कालिगडीको माध्यमले नेपाललाई विश्वसामु चिनाएका थिए । १२ वर्षको उमेरमा अरनिको तत्कालीन चीनका सम्राट कुब्लाई खानको निमन्त्रणामा बुद्ध मन्दिरहरूका स्तुपा बनाउन चीन गएका थिए । अरनिकोको क्षमताबाट प्रभावित चिनियाँहरूले उनीलाई विशेष सम्मानित कलाकारको दर्जामा राखे । उनका कामहरू चीन र तिब्बतमा मात्र सीमित नभई भियतनाम, कम्बोडियासम्म फैलियो । अरनिकोद्वारा निर्मित सेतो स्तुपा अझै पनि बेइजिङको आकर्षकको रूपमा देख्न पाइन्छ । उक्त सेतो स्तुपा भएको ठाउँमा अहिले अरनिकोको सालिक नेपाल र चीनको मित्रताको प्रतीक बनेर उभिएको
छ । तत्कालीन चीन सरकारबाट विशेष नागरिकको उपाधिद्वारा सम्मानित भएका अरनिकोले आफ्नो जीवन चीनमा नै बिताएका थिए । अरनिको आज पनि नेपालीका लागि प्रेरणाका स्रोत हुन् । यसरी भृकुटी र अरनिको हाम्रालागि प्रेरणादायी गैरआवासीय नेपाली -एनआरएन) का उदाहरणहरू हुन् । हुन त त्यसबखत यो शब्द प्रयोगमा थिएन, तर पनि सार्क मुलुक बाहेकका देशहरूमा वर्षको १८३ दिन वा सोभन्दा बढी बस्ने नेपाली अथवा नेपाली मूलका विदेशी नागरिक र उनीहरूका परिवारलाई एनआरएन भनिँदै आएको हुँदा भृकुटी र अरनिकोलाई सुरुका एनआरएन भन्दा अत्युक्ति नहोला ।
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज -भारत उपनिवेश भएको समय) बीचको युद्धमा गोर्खाली सैनिकले देखाएको विरताप्रति अंग्रेजहरू प्रभावित भएका थिए । नेपाल र तत्कालीन अंग्रेजबीच भएको सुगौली सन्धिमा अंग्रेजहरूले नेपालीहरूलाई आफ्नो सेनामा भर्ती गर्न पाउने कुरा पनि उल्लेख थियो । सुगौली सन्धिपश्चात नेपालीहरू गोर्खा सैनिकका नाममा अंग्रेज सेनामा भर्ना भई विश्वभर आफ्नो वीरता देखाएर विश्वमाझ नेपाललाई चिनाएका छन् । त्यसता गोर्खा सैनिकहरू आज पनि भारतीय र बि्रटिस सेनामा कार्यरत छन् । भारतीय र बि्रटिस सेनामा काम गरेका कतिपय गोर्खा सैनिकहरू आफूले सेवा गरेकै ठाउँमा बसोबास गरेका धेरै उदाहरण पाउन सकिन्छ । यसरी नेपालीहरू विभिन्न कारणबाट लामो समयदेखि नै प्रवासिँदै आएका छन् । कहिले बुहारी भएर त कहिले विदेशी सेनामा भर्ती भएर कहिले अवसरको खोजीमा त कहिले आफ्ना बालबच्चाहरूको राम्रो भविष्यको सपना बोकेर प्रवासिएका छन् । आज नेपालीहरू प्रवासिने क्रमले शिखर छोएको छ र सार्क मुलुक बाहेककै देशहरूमा २६ लाख नेपालीहरू प्रवासमा रहेका छन्, जसमा ६० प्रतिशतभन्दा बढी खाडी मुलुक र मलेसियामा छन् । विदेशमा पेसा व्यवसाय गरेर बसेका यिनै गैरआवासीय नेपालीहरूले पठाएको रेमिटेन्सबाट नै वर्तमान नेपालको अर्थतन्त्र चलिरहेको छ ।

गैरआवासीय नेपालीहरू प्रवासिने इतिहाससँगै आफूलाई प्रवासमा पनि स्थापित गराउन सफल भएको पाइन्छ । विदेशमा पेसा गरेर बसेका गैरआवासीय नेपालीको संख्या बढी भए तापनि गैरआवासीय नेपालीहरूले व्यापार व्यवसायमा पनि राम्रो गरिसकेको अवस्था छ । विश्वका उच्चशिक्षण संस्था, रिसर्च इन्स्िटच्युट, कम्पनीदेखि लिएर अन्तर्राष्ट्रिय संस्थासम्म नेपालीहरूको उपस्थिति पाइन्छ । हाल नेपालको ठूलो बौद्धिक जनशक्ति पनि विदेशमा रहेको अवस्था छ । यी गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा कसरी परिचालन गर्ने भन्ने पनि आगामी दिनका चुनौती हुन् ।
लामो समयदेखि विदेशमा गैरआवासीय नेपालीका रूपमा धेरै नेपालीहरू बसोबास गर्दै आए तापनि गैरआवासीय नेपालीहरूको नेपालप्रतिको माया, सद्भाव, समृद्ध नेपाल देख्ने सपना र त्यस समृद्ध नेपाल निर्माणमा आफ्नो योगदान गर्ने चाहना र आफू जहाँ रहे पनि नेपाली भएर बाँच्न चाहने आफ्नो इच्छाहरूमा भने कमी आएको पाइँदैन । सन् १९९० को अन्तिम दशक र सन् २००० को सुरुमा जब भारत-चीनजस्ता नेपालका ठूला मित्रराष्ट्रहरूले आफ्ना गैरआवासीय नागरिकलाई राष्ट्रनिर्माणमा सहभागी गराउनथाले, त्यसपश्चात गैरआवासीय नेपालीहरूले पनि संगठित भई गैरआवासीय अभियानको संस्थागत सुरुवातको आवश्यकताको मनन गरेका हुन् । त्यसकै फलस्वरूप गैरआवासीय नेपालीहरूले ‘नेपालीका लागि नेपाली’ भन्ने नारा लिएर सन् २००३ अक्टोबरमा गैरआवासीय नेपाली संघ -एनआरएनए) को विधिवत स्थापना गरी आफ्ना गतिविधिहरूलाई संस्थागत गर्दै आएका छन् । यसक्रममा गैरआवासीय नेपालीहरूले नेपालका साना-ठूला समस्याहरूको समाधानमा आवासीय नेपालीसँग हातेमालो गरेका छन् । देशमा दैविक प्रकोपको बेला होस् या राजनीतिक घटनाले देशलाई पिरोलिरहेको अवस्था, गैरआयासीय नेपालीहरूले सहयोग गर्न पछि हटेका छैनन् ।
नेपालभित्र गैरआवासीय नेपालीहरूलाई विभिन्न किसिमका नजरबाट हेरिँदै आएको छ । कसैले विदेशमा बस्ने धन कमाएका नेपाली या नेपालमा लगानी गर्नसक्ने नेपाली त कसैले विदेशी नै हो कि भन्ने नजरले पनि हेर्ने गर्छन् । समृद्ध नेपाल हेर्न चाहने यी गैरआवासीय नेपालीहरूले जब नेपालमा आवत-जावत गर्न नेपालमा धनसम्पत्ति राख्न, त्यसको सजिलोसँग उपयोग गर्ने या नेपालमा लगानी गर्ने आजको विश्व मान्यतामा अति साधारण भनिएका जस्ता कानुन निर्माण र हालको कानुनको परिमार्जका कुरा गर्छन्, त्यसबखत यी गैरआवासीय नेपालीहरूलाई यदाकदा शंकाको दृष्टिले हेरिने गरिन्छ । यस्ता गतिविधिहरू गैरआवासीय नेपालीले आफ्ना स्वार्थका लागि गर्नलागेका हुन् भनिन्छ, तर वास्तविक रूपमा भन्नुपर्दा यी नेपालीहरूको स्वार्थ भनेको नै विश्व मानचित्रमा नेपाललाई समुन्नत राष्ट्र देख्न चाहने चाहनामात्र नै हो ।

लामो विदेश बसाइबाट गैरआवासीय नेपालीहरूले के सिकिसकेका छन् भने आफू जति नै सम्पन्न भए तापनि आफ्नो राष्ट्र सम्पन्न नभई अन्तर्राष्ट्रिय जगतमा सम्मान पाइँदैन । यस्ता अनुभवहरूको सुरुवात कुनै पनि विकसित राष्ट्रको विमानस्थलमा उत्रेर नेपालको पासपोर्ट देखाउँदाबाट नै सुरु हुने गर्छ । विमानस्थलमा गरिने व्यवहार व्यक्तिको सम्पन्नतामा होइन कि कुन देशको नागरिक हो भन्ने कुराले निर्धारण हुन्छ । नेपाली र नेपाली मूलका विदेशी नागरिक भएर विश्वका विभिन्न ठाउँमा पाएका अपहेलनाबाट गुजि्रएका र ‘एकफेरिका नेपाली सधैंको नेपाली’ भन्ने कुरालाई आधार बनाएका यी गैरआवासीय नेपालीलाई आफ्नो मातृभूमिको विकासको अभावले सताउँछ । यस्ता अनुभव सिर्फ हामी नेपालीले मात्र गर्दै आएका होइनौं, धेरै विकासोन्मुख राष्ट्रहरूका नागरिकहरूको प्रायः यही कथा हुने गर्छ । छिमेकी मुलुक भारत र चीनका नागरिक पनि केही समय अघिसम्म यस्तै अनुभवबाट गुजि्ररहेका हुन् र यी राष्ट्रको विकाससँगै अब उनीहरूका लागि त्यस्तो समय दोहोरिएला जस्तो देखिँदैन ।
गैरआवासीय नेपालीहरूले विगतमा र अहिले झनै नेपालको विकास चाहेका छन्, उनीहरू सम्पन्न नेपालको अभियान चलाएर नेपालीहरूको समग्र विकासमा सहभागी हुन चाहन्छन् । गैरआवासीय नेपालीहरू नेपालको चौतर्फी विकासका लागि सिर्फ आर्थिक लगानीमात्र नभई बौद्धिक लगानी गर्न पनि सक्षम भइसकेको अवस्था छ । मुलुक द्वन्द्वग्रस्त रहँदा पनि गैरआवासीय नेपालीहरूले रेमिटेन्स भित्र्याउन छाडेनन्, आफ्नो लगानीको सुरक्षा नहँुदा पनि उनीहरूले नेपालमा लगानी गर्नबाट पछि हटेनन् । वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन । इतिहासदेखि वर्तमानसम्म गैरआवासीय नेपालीहरू नेपाल र नेपालीको हितमा नै अघि बढेका कुरालाई बिर्सन हुँदैन ।

लेखक गैरआवासीय नेपाली संघ -एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता हुन् ।

basnet31@gmail.com

No related posts.

Comments

प्रतिकृया दिनुस्




, कृपया सभ्य भाषा प्रयोग गर्नुहोला ।

हाम्रो बारेमा

एन आर एन डेनमार्क कार्यसमिति....Read more

बिधान्

    एन आर एन डेनमार्कको बिधान् read more

ICC and NRNA massage

    International Coordination Council (ICC) President Upendra Mahato's massage for nrndenmark read more

नेपाली पात्रो

यहाबाट खोज्नुस्

बिबिसी नेपाली रेडियो

एन आर एन भिडियो समाचार ।

नेपाली दुतबास् डेनमार्क

मनोरन्जन शिफारिस्

अभिलेख

Photo slide